Sunday, July 10, 2016

नवयुग र सन्दीपलाई युवा प्रतिभा पुरस्कार

असार २६, २०७३- नवयुग श्रेष्ठ र सन्दीप लामिछानेसहित १० खेलकर्मीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार प्रदान गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेलले आइतबार नेपाली क्रिकेट टिमको बिदाइका क्रममा उक्त जानकारी दिएका हुन् ।
नेपाली फुटबल टिमले गत वर्ष बंगलादेशमा बंगबन्धु गोल्डकप र भारतमा दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्दा नवयुगले सनसनी प्रदर्शन गरेका थिए । त्रिभुवन आर्मी क्लबका स्ट्राइकर नवयुगको प्रदर्शन प्रमुख रहँदा नेपालले २३ वर्षपछि सागमा स्वर्ण जितेको थियो ।
सन्दीपले पनि आईसीसी यू–१९ विश्वकपमा सनसनी प्रदर्शन गर्दै नेपाललाई १६ वर्षपछि दोस्रो चरणमा पुर्‍याएका थिए । सन्दीपले जनवरी–फेब्रुअरीमा बंगलादेशमा भएको यू–१९ विश्वकपमा १४ विकेट लिएका थिए र प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा थिए । उनले आयरल्यान्डसँगको खेलमा ह्याट्रिक गरेका थिए ।
नवयुग र सन्दीपसँगै सागका स्वर्णधारी निमा घर्तीमगर र फुपूल्हामु खत्रीले पनि यो अवार्ड पाउनेछन् । अन्यमा पौडीकी गौरिका सिंह, एथलेटिक्सकी विपना परियार, तेक्वान्दोकी निशा रावल, पारा खेलकुदका प्रशिक्षक कुमार पौडेल, खोखो र कपर्दीका प्रशिक्षक रामनारायण राय र संघतर्फ नेपाल ट्रायथलन संघ छन् ।
२०७२/७३ अन्तर्गतका विजेता सबैले जनही एक लाख पाउनेछन् । युवा दिवसका दिन अगस्ट १२ मा सबैलाई यो सम्मान प्रदान गरिने सहसचिव पौडेलले जानकारी दिए ।

प्रकाशित: असार २६, २०७३


http://bit.ly/29GdZpT

source:http://kantipur.ekantipur.com/news/2016-07-10/20160710215228.html

No comments:

Post a Comment